कोरोनाको त्रास साहित्यिक रचनामा

कोरोनाको त्रास साहित्यिक रचनामा

नमस्ते ईन्यूज,२० चैत । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण यतिखेर सिङ्गो विश्व त्रसित छ । सङ्क्रमण फैलन नदिन सरकारले देशभर लकडाउन गरिरहेका अवस्थामा घरभित्रै बस्नु प्रत्येक सर्वसाधारणको बाध्यता बनेको छ । फुर्सदिलो समयमा यतिखेर विभिन्न सर्जकले आफ्ना लेख तथा रचना प्रस्तुत गर्दै आएका छन् । कोरोनाको कहर सिर्जनाको मुख्य विषयवस्तु बनेको छ ।
यहीबीचमा सामाजिक सञ्जालमा यस्तम रचना प्रशस्तै देख्न सकिन्छ ः
“सारा देश भए कठै थरथरि देखेर यस्को गति
लागौँ है सब राष्ट्रले मिलीजुली यो विश्वघातीप्रति ।”

मादी गाउँपालिका ताराकाङका कमलनाथ सापकोटाले झैँ सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गर्नुभएको यो प्रस्तुति कोरोना भाइरसको सङ्क्रमणले विश्व नै तहसनहस भइरहेका अवस्थामा यतिखेर फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालका माध्यमबाट यस्तै–यस्तै कविता तथा रचना व्यक्त हुने गरेका छन् ।
कोरोना सङ्क्रमणसँगै समाजमा पारिरहेको प्रभाव, सामाजिक रुपमा फैलिँदै गएको त्रास आदि रचनाका माध्यमबाट प्रस्तुत गर्न लागिएको छ । सङ्क्रमणबाट जोगिनका लागि सर्वप्रथम आफू नै सचेत हुनुपर्ने भन्दै सापकोटाले कवितामा भन्नुभएको छ–
“यस्तो रोग विनास गर्न सबले सफा गरौँ घरघर
आफ्नो नै घरमा बसौँ नडुल है भीडभाडमा सबतिर ।
साबुनले अनि हात पाउ धुनुहोस् राम्रो गरी हरपल
खाना स्वच्छ सादा बनिरहोस् हामी सबैको घर ।।”

आहारबिहारका साथै आत्मबल बलियो बनाउन सके मात्रै पनि सम्भावित जोखिमबाट बच्न सकिने उल्लेख गर्दै सापकोटा भन्नुहुन्छ,
“भिटामिन हुनै सबै चिजहरू खानेछ मान्छे जब
ठूलो रोग बिनास हुन्छ तनमा मर्दैन त्यो आखिर ।
हामी नै बलबान भई रहिरहे छोप्दैन रोगले पनि
रोग नै नास हुनेछ प्राणी सबको आत्मा बलियो बनी ।”

कोरोनाको सङ्क्रमणसँगै मानिसमा एक किसिमको त्रास सिर्जना भएको, मानिसको दैनिकी नै अस्तव्यस्त बनाइदिएको र यसबाट जोगिनका लागि सरकारबाट गरिएको लकडाउनलगायतका सन्दर्भलाई पनि यतिखेर साहित्यिक रचनामा समेट्न थालिएको छ । यिनै विषयलाई उल्लेख गर्दै पत्रकार डिल्लीरमण सुवेदी लेख्नुहुन्छ,
“कोरोनाले आफ्नो डङ्का विश्वभरि घन्काइदियो
त्यतिमात्रै कहाँ हो र सबका दिमाग रन्काइदियो
कहर पनि कति ठूलो गाँस, बास, कपास छिन्यो
डगरडगर हिँड्ने मान्छे कोठाभित्रै थन्काइदियो ।।”

सुवेदीले जस्तै लकडाउनका कारण घरघरमा नै थन्किनुपरेको पीडा एवं विवशतालाई यतिखेर विभिन्न रचनामार्फत सामाजिक सञ्जालमा व्यक्त गरिएको छ । फेसबुकमा नै पूर्वकी इन्दिरा दाहाल लेख्नुहुन्छ,
“शक्तिशाली झुके आज विश्व छ त्रासमा अझै
उज्यालो छैन धर्तीमा हाहाकार जताततै
अति सुक्ष्म छ यो जीव विश्व संहारमा जुटी
रौद्ररुप धरी आयो कालका पाशमा लुकी ।”

विज्ञानका चमत्कारले पनि कोरोनाको उपचार हुन नसकेको भन्दै दाहाल लेख्नुहुन्छ,
“बनेका अस्त्र क्षेप्यास्त्र सक्तैनन् मार्न जीव यो
विज्ञानका चमत्कारी औषधिले छुँदैन यो 
सिङ्गो विश्व सबै ढाक्यो डढेलो सल्किए सरी
क्षणमै भष्म पारेर घमण्डीका चुरीफुरी ।”

मनुष्य जगतमा विद्यमान अहङ्कार तथा घमण्डको कुनै अर्थ नरहेको प्रसङ्ग उल्लेख गर्दै दहाल थप्नुहुन्छ,
“अहङ्कार बनी मान्छे मान्छेलाई चबाउँदै
हिँड्दैथ्यो बिर्सिइ बाटो सानालाई दबाउँदै
कोरोना काल आएर सङ्केत मृत्युको दिँदा
आत्तिदैछ अहो १ मान्छे घमण्ड तोडियो कता ?”

अनावश्यक हल्लाका कारण पनि समाज त्रसित भइरहेको प्रसङ्ग उल्लेख गर्दै सुदुरपश्चिमका वासुदेव पाण्डेय लेख्नुहुन्छ,
“अनावश्यक हल्लाले मनमा उब्जिने डर
मेघ गर्जन पो हुन्छ वर्षाभन्दा भयङ्कर ।।

यस्ता समस्या आउने जाने भन्दै पाण्डेय मनलाई स्थिर राख्नुपर्ने भन्दै,
“समस्या आउँछन् जान्छन् 
राख्ने हो स्थिर यो मन 
साह्रा ढुङ्गा फुटाल्दैमा

सिद्धिन्नन् सजिलै घन ।।” लेख्नुभएको छ ।
विभिन्न घटनाक्रम र परिवेशले साहित्यको सिर्जना गर्ने वरिष्ठ साहित्यकार सरुभक्त बताउनुहुन्छ । कोरोनाको विश्वव्यापी त्रासदी र परिवेशलाई सर्जकले साहित्यिक रचनामा व्यक्त गर्न थालेको उहाँले बताउनुभयो । “साहित्य निरपेक्ष हुन सक्दैन, घटना तथा परिवेशले यसको सिर्जना गर्दछ”, उहाँले भन्नुभयो, “कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण र यसले तहसनहस पारेको समाज एवं परिवेशलाई समेट्दै आगामी दिनमा विभिन्न साहित्यिक रचना हुने क्रम बढ्ने पक्का छ ।”