काठमाडौं उपत्यकामा संक्रमण रोकथाम तथा नियन्त्रणकै लागि भदौ १५ गतेसम्म निषेधाज्ञाको अवधि थप

2020-08-25 09:23:58 AM
70views

नमस्ते ईन्यूज,०९ भाद्र । कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि थप गर्ने तयारी भएको छ ।
अहिलेसम्मको स्थितिबारे समीक्षालगायत निर्णय लिन उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक मंगलबार बस्दै छ । बैठकले १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउनेबारे निर्णय गर्नेछ ।

त्यसअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) र उपत्यकाभित्रका स्थानीय तहसँग पनि यसबारे संयुक्त रूपमा छलफल गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले बताए ।

सोमबार उपत्यका नगरपालिका फोरमले पनि भदौ १५ गतेसम्मका लागि स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा स्थगनको निर्णय गरेको छ । फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन पनि सिफारिस गरेको छ ।

फोरमको सिफारिस मंगलबार प्रशासनसँगको संयुक्त बैठकमा पेस गरिनेछ । बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि बुधबार राति सकिँदै छ ।

सोमबार नै भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समिति र डीसीसीएमसी बैठकले निषेधाज्ञाको अवधि बढाउने निर्णय गरेका छन् । दुवै प्रशासनले आ–आफ्ना निर्णय मंगलबार बस्ने संयुक्त बैठकमा पेस गरिने बताएका छन् ।

संक्रमण रोकथाम तथा नियन्त्रणकै लागि थप निर्णय लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा तीन जिल्लाको संयुक्त सुरक्षा र डीसीसीएमसीको बैठक डाकिएको काठमाडौंका प्रजिअ दाहालले बताए ।

‘मंगलबार तीनवटै जिल्लाको डीसीसीएमसी, सुरक्षा समिति र मेयरहरु सहभागी हुने गरी विभिन्न बैठक डाकेका छौं, संक्रमण रोकथाम तथा नियन्त्रण गर्न यसअघि जारी गरिएको निषेधाज्ञाबारे समीक्षा र आगामी निर्णयबारे विस्तृतमा छलफल हुन्छ ।’

प्रजिअ दाहालले निषेधाज्ञाले उपत्यकामा जोखिमको मात्रा घटाउन मद्दत पुगेको दाबी गरे । ‘जोखिम कम गर्न निषेधाज्ञा अझै केही समय लम्ब्याउनुपर्छ भन्ने विभिन्न पक्षबाट रायसुझाव आएका छन्, डीसीसीएमसी र संयुक्त सुरक्षा बैठकमा यसको पनि समीक्षा हुन्छ,’ उनले भने, ‘सायद अर्को एक साता निषेधाज्ञाको अवधि बढ्न सक्छ ।’ साभार कान्तिपुर दैनिक

काठमाडौं उपत्यकामा संक्रमण रोकथाम तथा नियन्त्रणकै लागि भदौ १५ गतेसम्म निषेधाज्ञाको अवधि थप